सुरेन्द्र देवकोटा – हल्लाको साँघु
हल्लाको साँघु तरेर जब आइपुग्छ
तिम्रो कविताको खाता मेरो सामु
र
अठ्याउँछ मेरो घाँटी
म अतालिन्छु
म निसासिन्छु
म छट्पटिन्छु ।
जब भाषा सिक्दै गरेको मेरो छोराले
तिम्रो कविताका अश्लील शब्दहरुको अर्थ सोध्छ
म लाटिन्छु
म नाजवाफ हुन्छु
र पर पहाड हेरेर
खुट्टाको बुढी औलाले
भुँई कोतरीरहन्छु ।
हल्लाको साँघु तरेर जब आइपुग्छ
तिम्रो संस्कृतिको छाता मेरो सामु
र
नङ्ग्याउँछ मलाई
म अल्मलिन्छु
म चोइटिन्छु
म धुलिन्छु
संक्रमित संस्कृतिको शिकार भएकी
मेरी छोरी
ओड्नु र नओड्नुको दोधारमा
छातामा भरेका प्वालहरु गन्छे
सोध्छे
यहि हो कि साँस्कृतिक परिवर्तन
म टोलाउँछु
म एकोहोरिन्छु
र
तिम्रो छाताका भाँचिएका करङ्गहरु हेरेर
चुपचाप बस्छु ।
हल्लाको साँघु तरेरै आइपुग्छ
सदनको भाषण
एलिटहरुको राष्ट्रप्रेम
सर्वहाराहरुका अगुवाका मौसमी फेसन
पोजेटिभ थिङ्करहरुका सुख्खा दर्शन
र गिज्याउँछ मलाई
म आँखा छोप्छु
म तिल्मिलाउँछु
र पानी पानी हुन्छु
म रन्थनिन्छु
म डग्मगाउँछु
मलाई माफ गर
हल्लाको साँघु तरेर आउने
तिम्रा हल्लाहरु म सहन सक्दिन
म हल्लाको साँघु चुडाँउन जान्छु ।
– शनिवार, 4 आश्वीन, 2071