Nischal Regmi – Premi Haru Ko Sampati

निश्चल रेग्मी – प्रेमीहरूको सम्पति

थिईनँ कि कतै म योग्य तिम्रो,
के गरूँ ? अब जुटिसक्यो बन्धन् !
घिस्रँदै मेरो धुलौटे पथमा
मलिन भयो तिम्रो रेसमी जीवन।

प्रथम पटक प्रेम प्रस्ताव लिंदै
निकट तिम्रो जब आएको थिएँ
आफ्नो निधारको विवशता रेखा
कहाँ मैंले लुकाएको थिएँ ?
लज्जाभारले तिमी निहुरी नै रह्यौ
पसेनौं भयातुर नयन भित्र
संकेत गर्दै थिए मेरा चञ्चल परेली
आँधी चल्दैछ यो जीवन भित्र !

उजागर भयो यथार्थ अब
रित्ता मेरा दराजहरू
आर्जें फगत् यो जिन्दगीमा
सिक्कामा बिक्ने साजहरू
अनि केही कागजका टुक्रा
कल्पना जसमा कोरिएको छ
बेकार यस्तै चिजहरूले
कोठा मेरो भरिएको छ ।

सुनका बाली तिम्रा कानमा
कहाँ म सजाउन सक्छु ?
कर्ण निकट हृदय रञ्जनी
रागीनी धारा बगाउन सक्छु !
फुस्रो थोत्रो तिम्रो आँचलमा
हिरत् सितारा कहाँ जडाउन सक्छु ?
यी शब्द नै पन्ना मेरा
कविता घुम्टो ओढाउन सक्छु !

प्रेमीहरूको सम्पति यहाँ
पीडा अनि प्रलापहरू
तिम्रै हो प्रिये ! स्विकार गर
गम्भिर मेरा आलापहरू
जन्मौं जन्म अन्यथा तिमीलाई
सौगात केही दिन सक्ने छैन
के गरूँ? हृदयमा प्रेम सागर
कदापि पनि त्यो सुक्ने छैन !

॥ॐ नम: शिवाय॥

चाबहील, काठमाडौं

One thought on “Nischal Regmi – Premi Haru Ko Sampati”

Comments are closed.