Nischal Regmi – Mahesh Aafu Bhitra Chhan

निश्चल रेग्मी – महेश आफु भित्र छन्

चलाउँदैछ को यहाँ प्रपञ्च लोकहितको ?
समस्त जिन्दगी भरी छ लोभ मोह ग्रस्त जो !
पुकार गर्छ घण्टले प्रभातमा मनुष्य हो
महेश आफु भित्र छन् कसै पछि नलाग हो !
महेश आफु भित्र छन् कसै पछि नलाग हो!

छ औंसी मात्र खै कहाँ ? प्रदीप्त पूर्णीमा पनि
निशा र भोर चालेर चलीरहेछ जीवनी !
सुखै रहोस् सधैं भरी कदापि छैन संभव
हजार धूर्त बेच्दछन् नशा मधुर स्वप्नको !
महेश आफु भित्र छन् कसै पछि नलाग हो!

धरेर रूप सौ थरि हिँडे कमाउँदै धन
भरे तिजोरि स्वर्णले लुटी अबोध जीवन
गुरू बने मुनि बने बने नेतृ र नायक
गला सुगा सरि मिठो परन्तु नेत्र गिद्धको!
महेश आफु भित्र छन् कसै पछि नलाग हो!

समाजलाइ बद्लिने सुनाउँदैछ भाषण
कुरै त हो विशेष के नयाँ विचार दर्शन ?
रटी किताब दर्जनौं स्वयं अरस्तु ठान्दछन्
मुटु हँदैछ साँघुरो जिब्रो फगत् चलीरह्यो!
महेश आफु भित्र छन् कसै पछि नलाग हो!

जगत् नियाल एक छिन् सबै समान जिन्दगी
स्वरूपमा छ भिन्नता तथापि एउटै गति
नदी सरी बहन्छ यो जुधी कहीँ झरी कहीँ
दरिद्र राजराज भो सम्राट रङ्क भै दियो!
महेश आफु भित्र छन् कसै पछि नलाग हो!

॥ॐ नम: शिवाय॥
(पञ्चचामर छन्द)

चाबहील काठमाडौं