निश्चल रेग्मी – साक्षी
कहीँ बिलाए मृदु भाव मेरा
कस्तो बगाऊँ अब गीत धारा ?
डुलें जगतमा कविता म खोज्दै
पीडा खुशीका रस रङ्ग रोज्दै
बर्सेन यौटै पनि शब्द ओहो !
के ले सजाऊँ अब तानपूरा ?
कस्तो बगाऊँ अब गीत धारा ?
कहीँ उराठो भिडभाड देखें
कहीँ हताशा अनि हार देखें
बाटो बनी मौन बसें म नित्य
दौडीरहे नेत्र अगाडि सारा !
कस्तो बगाऊँ अब गीत धारा ?
देखिन्छ आन्दोलनका मसाल
घन्किन्छ है उत्सव मस्त ताल
धरोहरा झैं उभिएर हेर्छु
एकान्त बाटो हडताल नारा !
कस्तो बगाऊँ अब गीत धारा ?
बज्यो कहीँ मन्दिर बीच घण्ट
पढ्थे जसै स्तोत्र प्रशान्त भक्त
म यज्ञको मन्द बनेर धुवाँ
उडेँ गगनमा छुन जून तारा !
कस्तो बगाऊँ अब गीत धारा ?
सूर्यास्तमा रङ्गिन व्योम घुम्छन्
प्रात: चरी गुन् गुन नाद गर्छन्
खडा रही पर्वत झैं नियाल्छु
वसुन्धराका प्रित रङ्ग प्यारा !
कस्तो बगाऊँ अब गीत धारा ?
मिठो सुनाई धुन बग्छ कैले
यो बन्छ बाढी कहिले भदौरे
बद्ल्यो जगत् ले रुप भाँति भाँति
म हेर्छु संसार बनी किनारा !
कस्तो बगाऊँ अब गीत धारा ?
यो हाड यो मासु र केश दाह्री
यो चित्तमा नित्य विचार बाढी
शरीर बद्ल्यो अनि भाव बद्ल्यो
उस्तै छु उस्तै छु म निर्विकारा !
कस्तो बगाऊँ अब गीत धारा ?
म के रचूँ ? गीत रचिन्छ आफैं !
साक्षी हुँ, यो जीवन हुन्छ आफैं !
नाच्दैछ सारा जग यो सदैव
पाई सधैं ती शिवकै इसारा !
कस्तो बगाऊँ अब गीत धारा ?
॥ ॐ नम: शिवाय ॥
(उपजाति छन्द)