शरण आँसु – मेरो गाउँको बाटो
मेरो कौसेरीको ठाडो उकालो
जति म उक्लन्छु
उति उक्लन्छ ।
तर म हरेक यात्रामा
मेरा सम्पूर्ण चेस्टाहरूले
बौंडाइ भीरको थाप्लोमा टेकेर
मेरो विजयी नाकको पसिना पुछदछु ।
तप्युँ तप्युँ परेको मेरो बाटो
दुरुह र चिप्लो हुन्छ –
बर्खामा काउली परेर
अनि
हिउँदमा सल्लोका पातहरूले छोपिएर ।
स्वभाविक प्राय: हुनु पर्ने हो
लड्नु र चिप्लिनु –
तर, अहँ म लड्दिन
र कहिल्यै चिप्लिन्न
मेरो बाटोमा ।
धाइ कापको तेर्सो बाटो
हाडे उन्यूका हरफहरूमा
लेख्दै हिंड्छु म मादक कविता
गाउँकै सम्झनाको ।
खरवारी डाँडाको भावातिरेक
पृष्ठभूमिमा –
अँगेरीका फूलहरू फुल्न थाल्दा
फिस्स हाँस्छु म – आसक्तिका
फूलहरू जस्तै मुर्झाएर ।
सादृस्य आँखाका हरिया वनहरूमा
पुरेनीका लहरा झुण्डिए झैं
तुन्द्रुङ्ग झुन्डिएर मेरो मन
हाँगाहरूमा विचरण गर्न थाल्छ ।
म सम्झन्छु –
मैले लेखेको प्रेमपत्र
क्षत विक्षत सपनाका अवयवहरूमा
अन्तरहृदयका अक्षत भित्ताहरूमा ।
अनि
म मेरो गाउँको स्वप्नसौन्दर्य-
दमिनी साइलीको मृदु मुस्कान
गल्ली गल्लीमा खोज्दै हिंड्छु ।
मथिनु घारिको
मेरो बाटोमा
मथिनु लागेर मात्तिएको खोलो बग्दछ ।
तर म त्यसरी मात्तिएर बग्न सक्तीन –
सहरको खल्लने पानी पिएर
गाउँ फर्कंदा ।
मेरो बाटोमै
सिमलीको गाँजमा जुरेलो
घाटु बोल्छ, आडु बोल्छ –
स्वागत शैलीमा ।
तगारोनेर लालुपाते डालीमा बसेर
टिकुली ट्याँक,
टिकुली ट्याँक
धोबिनी बोल्दछे ।
मेरो गाउँको बाटो मलाई
पर्खिरहन्छ-
अनुहारभरि मेरी आमाको
मुस्कान पोतेर ।