शरण आँसु – रमोल्ला देवी र मोनालिसा
ऐलानी जग्गा,
ऐलानी मन, ऐलानी भविष्य –
रमोल्लादेवी कोइरीको अनुहारमा
पढ्न सकिन्छ ।
उसको बस्तीमा रहरको सूर्य
पूर्वबाट उदाउँछ,
पूर्वमै अस्ताउँछ ।
उसको अपूर्व सौन्दर्य,
अपूर्व सपना –
कथित महिला आयोगको कार्यालयका
अभिलेखहरूमा-
बन्धकी राखिन्छन् ।
सुर्यदय र सुर्यास्त एकैसाथ
रमोल्लादेवीको भान्छामा भोको समय
चपाइरहन्छन् ।
न जोडेर
न घटाएर –
सावित गर्न सक्छे ऊ-
असमानान्तर क्षितिजहरू वीचको समानता ।
साँझ परेको ठानेर
हायनाहरू बिहानै हाँस्न थाल्छन् ।
बिहान भएको अन्दाजमा
कुखुराहरू सम्साँझै बास्न थाल्छन् ।
अनि सल्कन्छ
रमोल्लादेवीको मनमा-
सुदुर, सुमधुर सम्झनाहरूको सलेदो ।
ऊ लोग्नेमान्छेहरूलाई आफ्नो अनुहार
देखाउन सक्तिन ।
ऊ जुडसितलको पूजामा आफ्नो पीर
लेखाउन सक्तिन ।
ऊ सक्छे केवल
घुम्टोभित्र आफूलाई लुकाइरहन ।
ऊ सक्छे केवल
समय नदीको आर्तनाद सुनाइरहन ।
इक्कडदुक्कड खेल्दा खेल्दै
रमोल्लादेवीका कलिला बिहानहरूले
ब्ल्याक होल यात्रामा निमग्न पाइला
बढाइरहन्छन् ।
कसैले पनि नछोएको
कालिमाहरूको कालो यथार्थ
समाइरहन्छन् ।
न प्रेमले
न युद्धले
छोट्याउन सक्छे ऊ
अप्राकृतिक मान्छेका सीमानाहरूको वीचको दुरी ।
न बुझ्न सक्छ यो आकाशले
ढल्कँदो सूर्यका पाइलाहरूको रहस्य ।
न सोच्न सक्छ यो धर्तीले
रमोल्लादेवीको रगतका छिटाहरूको रहस्य ।
अनि पोल्टामा अँध्यारो थापेर
कसरी गन्न सक्छे र ऊ-
मान्छेत्वका सीमानाभित्रका मान्छेहरू !
कसरी पढ्न सक्छे र ऊ –
स्वतन्त्रताका काइते अक्षर !!
कसरी मुस्काउन सक्छे र ऊ –
अनवरत अनवरत
मोनालिसा झैं !!!