Abhas – Maun Barta

(आन्दोलित पवित्र मनहरुलाई)

म समयसित
मौन वार्ता गरिरहेछु
मेरी प्रियतमा
तिमी मौनता भङ्ग नगर

सौम्य छन् तिम्रा आँखा
सागरमा पनि लहर छैन
म समयसित
सुस्तरी साउती खेलिरहेछु
अहिले
म तिम्रो आँखाको शान्तिमा डुबिरहेछु
शान्त सागरमा हराइरहेछु
विन्ति प्रियतमा
तिमी मौनता भङ्ग नगर

आँखामा आँसु बोकेर
एकहुल परेवाहरु
मेरो शीरमाथि उडिरहेछन्
म सुकोमल मखमली रुमाल खोजिरहेछु
आँसुले थाकिसकेँ म
रोदनले थाकिसकेँ

यतिबेला मेरो परिवेश
ममाथि शङ्का व्यक्त गरिरहेछ
औँला ठड्याइरहेछ
मेरो हिम्मतमाथि

तर म मौन छु
त्यसैले आन्दोलित पनि छु

अहिले म
आफैँसित मौन आन्दोलन गरिरहेछु
विन्ति प्रियतमा
तिमी मेरो मौनता भङ्ग नगर ।