Nischal Regmi – Parichaya

निश्चल रेग्मी – परिचय

हिममय शुभ्र भूमिमा
म आफ्नो परिचय लेख्छु
मित्र! तिमीले पढुञ्जेल सम्म
पग्लिसकेको हुन्छ त्यो!

प्रत्येक प्रभात शिवालयमा
घण्टीको मधुर गुञ्जमा
म छोड्छु नाम आफ्नो
मित्र! तिमीले सुनुञ्जेलल सम्म
भक्तजनहरुको चहलपहलमा
दबीसकेको हुन्छ त्यो!

नसोध तिमी बादलको ईतिहास,
पानी हो त्यो बिलाउँछ पानीमा!
म एउटा जिन्दगानी
हराउँछु लाखौंको कहानीमा
तिम्रै आँशुमा, तिम्रै मुस्कानमा
तिम्रै अप्रकट वेदनाहरूमा
म आफ्नो कथा लहराउँदै हुन्छु
मित्र! तिमीले आभास पाउञ्जेल सम्म
शीथिल भईसकेको हुन्छ त्यो!

आहा! अस्तित्व मेरो छैन
कदाचित् म आकाश हुँ
आहा! आलय मेरो छैन
कदाचित् म बतास हुँ
तिमीले खोजुञ्जेल सम्म मलाई
म धूप,
सुवासमा बद्लिसकेको हुन्छु।

चमचम बिजुली बत्तिको
वैभव म संग छैन
सुटुक्क गगनमा मुस्कुराउने
म त सप्तरङ्गी ईन्द्रेणी!
मलाई चिनेनौ सायद तिमीले,
वर्षौं पहिले मैंलो कपडामा
तिमी निश्छल बालक थियौ
आज पनि म त्यहि छु,
हिलो माटोमा लत्पतिएर
जगद्पिताको आँगनमा
निश्चिन्त खेलीरहेको छु!

के दिऊँ परिचय आफ्नो?
तोरी बारीका लाखौं फूल मध्ये
फूलीरहेको म फूल साधारण
संसारले चिन्न सक्ने
आँधीको विशेषता म संग छैन
संसारले देख्न सक्ने
बाढीको विशेषता म संग छैन
तिमीले भनक नपाउँदै
मामुली सिमलका भूवाझैं
मेरो परिचय तिम्रो आँगनमा
आईरहेको हुन्छ
मित्र! तिमीले छोउञ्जेल सम्म
उडीसकेको हुन्छ त्यो!

।। ॐ नम: शिवाय ।।