Sagar Saud – Tyahan Ujyalo Hundai Chha

सगर साउद – त्यहाँ उज्ज्यालो हुँदैछ ।

अन्धकार रात
भयावह निशा चिरेर
त्यहाँ सूर्योदय हुँदैछ ।

मिर्मिरेको शितल पवन
भररातको त्रासले मृत्यू भएका
जीवनहरु त्यहाँ
पुनः जीवन लिएर
पंछीहरु चिर्विराईरहेछन्
फूलहरु हल्लिदै यता उता
भ्रमरहरु टहलिदै यता उता
किटपतंग आफ्ना
संसारी कर्महरुमा लीन हुँदैछन् ।

तप्तप् खसिरहेका शीतका थोपाहरु
वृक्षबाट धर्तीमा
धर्ती उज्ज्यालो हुँदैछ
धर्ती नादमय हुँदैछ
जीवन पुनः चल्मलाउँदैछ
सूर्योदयका नवीनकिरण पुञ्ज
चराचर जगतमाथि सर्वसमान वर्षदैछन् ।

कालो कालो मोसो जस्तो अन्धकारले
आफनो ओडनीले अठ्याएको
त्यो भूमी
त्यो देह
त्यो जिन्दगी
रात फाटेर
त्यहाँ उज्ज्यालो हुदैछ ।

ढुंगा छोडी भावतर्फको यात्रा
काया छोडी आत्मातर्फको यात्रा
सुख छोडी आनन्दतर्फको यात्रा
शरीर छोडी मनतर्फको यात्रा
ऐस छोडी बैराग्यतर्फको यात्रा
बाहिर छोडी भित्रतर्फको यात्रा
चक्रव्यूह छोडी निकासतर्फको यात्रा
अन्त छोडी अनन्ततर्फको यात्रा ।

विहान हुँदैछ
छोडी अन्धकार स्वभावहरुको कालो धङ्धङी
विहानीको शीतवृष्ट्रिमा
पवित्रस्नान र शीतल पवनको स्पर्शले
थकान, भागदौड, तँछाडमँछाड
तेरोमेरो, नाफाघाटा, रिसराग
ईष्र्या र अहम्लाई
ज्ञानपुञ्ज, शक्तिपुञ्ज, ज्योतिपुञ्ज
सृष्ट्रि नियामक सूर्यदेवका कोटी कोटी
अग्निचरणमा तपर्ण गर्दै
त्यहाँ आफनो खोजतर्फको यात्रा
प्रकाशपुञ्जतर्फको यात्रा
व्यक्त छोडी अव्यक्ततर्फको यात्रा
शान्तीतर्फको यात्रा
अनुशासनतर्फको यात्रा
मानवतातर्फको यात्रा
सृजनातर्फको यात्रा
सभ्यतातर्फको यात्रा ।

त्यहाँ सूर्योदय हुँदैछ ।
त्यहाँ उज्ज्यालो हुँदैछ ।