Rakesh Karki – Na American Bhayen, Na Nepali Bhayen

इन्जिनियर राकेश कार्की – न अमेरिकन भए न नेपाली भए

कुर्सीको मोह हुनेहरु अध्यक्ष भए
बचेका खुचेका सबै उपाध्यक्ष भए
पैसा पैसा भन्ने कोषाध्यक्ष भए
कुनै न कुनै पदका दक्ष भए
न अमेरिकन भए न नेपाली भए
एउटा न एउटा संस्था खोली भए

घुमाउन जान्ने महासचिव भए
समाएर तान्ने सचिव भए
छाती फुलाउन मन लाग्ने सल्लाहकार भए
पद नभेट्नेहरु सबै हल्लाकार भए
न अमेरिकन भए न नेपाली भए
सकेसम्म दाउपेच चाली भए

चेसका गोटीजस्ता सदस्य भए
संघसंस्था नओड्ने अदृश्य भए
जताततै मुन्टो घुसाउने पदेन भए
जसरी पनि घुस्न खोज्ने जेनतेन भए
न अमेरिकन भए न नेपाली भए
पहिले नभेट्ने बल्ल यसपाली भए