इन्जिनियर राकेश कार्की – जब सर्वहाराहरु महलमा बस्छन्
जब सर्वहाराहरु महलमा बस्छन्
व्यापारीहरुको चहलपहलमा बस्छन्
बिर्सन्छन् आफू जन्मेको झुप्रोलाई
सुमसुम्याइ रहन्छन् सुनको थुप्रोलाई
डनहरु अघिपछि हुन्छन्
हितैषीहरु पर पर रुन्छन्
आशाका सही यथार्थ सिद्धान्त
तिलाञ्जलि दिन्छन् क्रमश: हुन्छ अन्त
कष्ट गरिबी दिमागमा हुन्नन्
बरबिचारा दरिद्रलाई छुन्नन्
बोल्न दिन्नन् आफूमात्र बोलेर
पिउछन् सङ्कल्प सुरामा घोलेर
छोडिदिन्छन् साधना, त्याग र धर्म
फलैफल भेटेपछि किन गर्नु कर्म
मनोरञ्जन मजामा नाचिरहन्छन्
ऐश्वर्य ऐस आराममा बाँचिरहन्छन्
अगष्ट ५, २०१३