Rakesh Karki – Nepal Ko Geet Gaai Raheka

इन्जिनियर राकेश कार्की – नेपालको गीत गाइरहेका

बिहानै झिसमिसेमा हलो काँधमा हालेर
हरुवाहरु नेपालको गीत गाइरहेका
गाईबस्तु धपाउदै मकैभटमास चपाउदै
चरुवाहरु नेपालको गीत गाइरहेका

हिल्याएको खेतमा लस्करै रोपारेहरु
धान रोप्दै नेपालको गीत गाइरहेका
साँझमा खेतालाहरु भर्खरै रोपेको बीउ
झिक्राले छोप्दै नेपालको गीत गाइरहेका

खोलापारि हाटबजारमा दमाइँ र दमिनी
लुगा सिउदै नेपालको गीत गाइरहेका
स्कुलबाट फर्केका विद्यार्थी ढुङ्गेधारामा
पानी पिउदै नेपालको गीत गाइरहेका

आरानमा फलाम पिट्दै कामी दाइ
पसिना पुछ्दै नेपालको गीत गाइरहेका
ठाडो उकालोमा भारी बिसाएर भरियाहरू
ढिँडो मुछ्दै नेपालको गीत गाइरहेका

सिपाहीहरु, प्रहरीहरु नेपालको झण्डालाई
सलाम ठोकेर नेपालको गीत गाइरहेका
केटाकेटी देखी बूढाबूढीसम्म ठूल्ठूलो स्वरले
राष्ट्रप्रेम पोखेर नेपालको गीत गाइरहेका