अनुप जोशी – बुवा (कविता)
पहिले पहिले
बुवा कुनै कामले काठमाण्डु आउँदा
मलाई पनि शहर देखोस् भनेर ल्याउनुहुन्थ्यो
उँहाको पाइला माथि पाईला खप्ट्याउँदै गर्दा
मेरो दृष्टि उहाँको चोर औँलाको पारीपट्टि हुन्थ्यो
भन्नुहुन्थ्यो –
“त्यो सिँहदरबार हो ”
मेरो जिज्ञासालाई शान्त पार्नुहुन्थ्यो –
” यहाँ सिँह भन्दा’नि हिँस्रक जनावर बस्छन्”
र सडकका हरेक पसल-पसलबाट छानेर
मलाई सबैभन्दा सुहाउने लुगा किनिदिनुहुन्थ्यो ।
अहिले कहिलेकाँहि अचाक्ली रोगले थिच्दा
बुवा यात्रुबस चढेर यहाँ आईपुग्नुहुन्छ
सँगै, बाहिर कतै निस्कियौँ भने
म अघि-अघि हिँड्छु
अक्कमकिए जस्तो
उहाँ पछिपछि सुस्ताउँदै आउनुहुन्छ
पछिल्लो डेढ दशकमा कति सिँहदरबार थपिए भनेर सुनाउन
न मसँग फुर्सद हुन्छ
न त खिइँदै गएको उहाँको गोल्डस्टार जुत्ता फेरिदिन
मेरो जेबमा लक्ष्मीको नै बास हुन्छ ।