Laxmi Prasad Devkota – Ahile Ko Kshan

क.
अहिले, अहिले, यही, यही क्षण
ढुकढुक हो
परिवर्तनको मधुर ज्वलनको
जीवन–नामा स्पन्दनको
मुटुका कदमको टुकटुक हो

ख.
तातो रगतको, जिउँदो रगतको, चल्दो रगतको
भकभक हो
विश्वको नाडी व्यक्तिको जीवनभित्र घुसेको
भित्र चलेको टिकटिक हो
यस कलपुर्जाको यो चालू सद्यो अनुभूत
चकचक हो
खण्डित समय गनाउन सानन्द,
सचेतताको स्तरमा चल्दो
एक लङ्गुरको लुगलुग हो !

ग.
पुतली एउटा झल्की, अल्प्यो
पुतली आर्को झल्की, आयो
एक बचेरो आँखा खोल्दछ,
एक बचेरो भरखर निदायो,
कोही मसिनो कुची घिसार्दछ
हेरफेर यो कोही निहार्दछ
गोचर नभको घेरा विकशी
वायुयानले बादल फार्दछ,
एउटा पाउ चट्ट खसाली,
आर्को पाउ चट्ट उचाली
कोही चल्दछ, कोही चाल्दछ
तिनका पदको दीर्घ सडकमा
आहट हो
सूनसानको असीम तटमा
जीवन–छालको चिच्याहट हो
इतिहास कलिको पत्ती, पत्ती
फुस्किरहेको फुकफुक हो ।

घ.
भूत, भविष्यले लगनको गाँठो
मीठो जोर्ने, मीठो तान्ने,
तनतन हो,
भइसकेको, अनि हुनेको
मिलन मधुर, अनि
चुम्बन हो,
चैतन्य परीको स्वपना जागी,
एक अनौठो नाचको लागि
चकचक पयरको छुमछुम हो
बुद्धिको एउटा समसम हो
जिन्दगीको चल्दो पलक हो
पला नटीको उत्तम झलक हो
सृजनाको एक रमरम हो
ज्यानको मधुर गरम हो
समय छालको फेलिन चूली ज्योति चढेको धुगधुग हो
अतीतको यो अन्तिम धुकधुक,
भविष्यको यो यसतिर पुगपुग,
वर्तमान ढुकढुक हो,
अहिले, अहिले, यही, यही क्षण
मिथुन बनेको दुःख सुख हो ।

ङ.
‘अघि’ गाडेको यस गानमा,
‘पछि’ जन्मेको यस तानामा,
अभिनव भाव झुलौना छन्,
विधि विविध खिलौना छन्
शुरुको बिन्दु छ, स्नायुको सकसक,
सञ्चित अनुभवहरुको झकझक !
मुटुले केही सल्लाह दिएको,
गिदीको जरुरी तार भएको,
दृकले लिएको केही नव लख
‘मसल’ ‘छु जिउँदै’ भन्दै उठेको
सगबग, सगबग !
कुनै किरणले झल्किरहेको पर मञ्जिलको छानो हो
सजीवताको तराना हो !
मुस्किरहेको अमृतरश्मिमा मृत्यु कालो कुकुरको यो
अश्रुत एउटा भुकभुक हो !

च.
रहस्यहरुले केही लरबर,
अनिश्चयले केही धरमर,
प्रस्थान दशामा पन्छी भुरभुर,
उडिरहेको हावामा तर,
अडिरहेको, पङ्खमा फरफर,
क्षितिज किनारा आँखा तानी, हेर्दो पर, पर ।
सुँइट्ट ! चलूँ झैं किरण–चलुर यो,
प्रेरणाले मुटुमा कुरकुर !
तीखो बोल्दछ बिजुली–चरी यो,
झल्याक्क उघारी संसार मिरमिर
एक आशाको इङ्गित भर
पङ्ख वेगले उड्दछ हुरहुर !
छोटो सुन्दर !
एक पछिको बच्चा काढी,
एक अघिको गुँडको अन्दर !
तरल पङ्खको चकचक हो !

छ.
यस पलकको उघ्रँदो सुख यो
अर्को झिमिकको थकथक हो ।
अथवा त्यसको धुकधुक हो ।
आर्को पालकमा तारो चुकेको
चुकचुक हो वा,
त्यो भेटेको झकझक हो ।
तर यही हाम्रो ढुकढुक हो ।
चल्दो जिउँदो सानो, मानो
एउटै लप्का हुन् भुक हो,
अनन्त जसमा बल्छ धप्प,
अथवा अन्त छ जसमा धिप्प,
दिव्य प्राणको धकधक हो !
अहिले अहिले, यही, यही क्षण
ढुकढुक हो !
यसको मुटुमा चोखो धड्कन
नवयुग हो ।