Bibek Dulal Chhetri ‘Damak’ – Timi Prati

विवेक दुलाल क्षेत्री “दमक” – तिमिप्रती

नमाग मसित रहेको दुखेको मन
नमाग मसित टास्सिएर रहेको गरिबी
नमाग राम्रेरी पट्याउन खोज्दाखेरि उद्रिएको मेरो माया
र कहिल्यै नपलाउला कि जसरि ठुटे भै सकेको मेरो बैश ।

माग्नु त मैले पर्ने हो
तर म माग्दिन तिम्रो चुल बुले बैश
माग्दिन म तिम्रो लोभलाग्दो नागबेली केशरासी
माग्दिन म तिम्रो बदामीओठ र स्याउ झैँ राता राता गाला
माग्दिन म तिम्रो झरनाभन्दा कन्चन स्निग्ध शरीर

यौटा शर्त मान्न मन्जुर छ भने तिमीलाई
कुनै पनि सम्झौतामा नबाधिने मेरो मन
एक पल्ट तिम्रो नाममा लिखितानम गर्न चाहन्छु
त्यहा भेदभावको कुनै तरंग पैदा हुनु हुने छैन
त्यहा अग्लो होचोको कुनै ज्वारभाटा आउनु हुने छैन

तिमीले स्वीकार्यौ भने म तिम्रै हुनेछु
तिमीले साथ दियौ भने म तिमीसितै हुने छु
तिमीले अनुमोदन गर्यौ भने म त्यहीं हुनेछु
तिमीले आफ्नो ठान्यौ भने म तिम्रो लागि हुनेछु

अब म कहिल्यै भन्ने छैन
नमाग मसित रहेको दुखेको मन
नमाग मसित टास्सिएर रहेको गरिबी
नमाग राम्रेरी पट्याउन खोज्दाखेरी उद्रिएको मेरो माया
र कहिल्यै नपलाउला जसरी ठुटे भै सकेको मेरो बैश ।

अस्तु :