सीताराम आचार्य – आश्वासन खाऔं
खाऔं, अझ धेरै आश्वासन खाऔं
गाऔं, अझ उहाँहरुकै भजन गाऔं
बर्षौंदेखि, महिनौंदेखि, हप्तौंदेखि
क्रमश: सुक्दै-सुक्दै गैरहेका
हाम्रा सानोआन्द्राका
टालिइंदै गैरहेका प्वालहरुलाई,
अब फेरि एकपटक
आश्वासनै-आश्वासनले भरिएको
बेलून-एन्जीओप्लास्टी गरेर नै किन नहोस्,
खुलाउने प्रयास गरौँ
अन्न र पानीको अभाव झेलिरहेको
हाम्रो भौतिक शरीरसंग बिदावारी माग्दै
उम्किनै लागेको प्राण-वायुलाई,
अब तिनै आश्वासनका सिता-सिताहरु
अर्थात भनौं थोपा-थोपाहरु
आँखा चिम्लेरै भएपनि घुटुक्क निलेर
केही दिनको लागि मात्रै नै किन नहोस्,
फोक्सोभित्रै कैद गर्ने चाँजोपाँजो मिलाऔं
आज फेरि तल ठूलो मैदानमा
आश्वासनका थुप्रै-थुप्रै पोकाहरु बाँडिदैछन् अरे
अघिदेखि हुलका-हुल मानिसहरु
ठेलमठेल गर्दै त्यतैतिर दौडिरहेका छन् अरे
जाऔं, हामी पनि विलम्व नगरी जाऔं
र , आफ़्नो अनि आफ्ना सन्ततिको निम्ति
ती “सदाबहार” पोकाहरु सुरक्षित गरौँ
जयजयकार अचाक्लि मन पर्छ उहाँहरुलाई
जाऔं, भोका र नाङ्गाहरुको पिडा अनि क्रन्दन
सुनेको नसुन्यै गर्ने उहाँहरुका कानहरुमा
स्तुति-भजनहरु गुन्जायमान पारौं
जाऔं, उहाँहरुका मुखारबिन्दबाट निस्कने
हरेक आश्वासनरुपि वाक्यहरुलाई
करतल ध्वनिका साथ अनुमोदन गर्दै
फेरि एकपटक पहिले झैं
गडगडाहट तालीका पर्राहरु छोडौं
आखिर हामीले चाकरीको संस्कृतिलाई
भरथेग र जगेर्ना त गरिआएकै छौं
आखिर हामीहरु उहाँहरुको भर्याङ्ग र बुई बनेर
निरर्थक बफादारिता दर्शाइरहेकै छौं
आखिर हामीहरु श्रम र स्वाभिमान भन्दा पनि
भ्रष्टाचार र भक्तिको संस्कृतिलाई
युगौंदेखि मलजल गरिरहेकै छौं
त्यसैले आज पुन: अर्कोपटक
खाऔं, अझ धेरै आश्वासन खाऔं
गाऔं, अझ उहाँहरुकै भजन गाऔं
टेक्सास, सं. रा. अमेरिका
मार्च ४, २०१३