सुधीर छेत्री – मध्यरात मेलोडी र पर्यावरण गीत
ओजोनको हजार आँख्ले डोको बोकेर
मेरी धरा-रानी
कसिङ्गरबाट
मिथेनको धुवॉं फ्यॉंक्छ।
चोली च्यातिएको जवान त्यसको उरोजलाई
गिजोलिबस्छ
हजार अदृश्य हातहरू।
पर्यावरणको रोगी अन्त्यानुप्रास
एकलयमा खोकिबस्छ अनि
स्लोगनहरूको अधिकतम सङ्ग्रहले
मोटाएको छ
म्यूचल फण्ड।
रूखबाट खसेर सँधैजस्तो
शिशिर
बजारिन्छ पत्करहरूमा।
वृक्षहरूका रङ्गी-चङ्गी स्वाभिमान
पाठ्यक्रमैपछि
अपमानित बन्छ।
मध्यरातको कालो रङ्गमञ्चमा
लाटोकोसेरोको मेलोडी बज्छ।
सम्झनाका क्रिजहरू मिलाउन
इस्तिरी तताउँछ
यो रात।
रूखका अर्द्धनग्न शिशुहरू
बारूदी सुरङ्गमा परेका छन्। तर
पानीका थोपाहरू माथिबाट
मल्हार गाउँदै झर्छन्।
एउटा ग्रीक ट्रेजेडी कथेर
सुनसान छ
जङ्गल।
घामको भृकुटी
तन्किएको छ।
दलित पात-पत्करहरू
आँधीको पदचाप टेक्दै आएको सुनिन्छ।
आदिवासी अँगालोमा
भातृत्वको रूपक मगमगाउँछ।
भोकको केट्रिना
भान्साघरभित्र स्वाट्ट छिरेको छ चील झैं भएर
अनि कालेस्टोरेलको पार्श्व-सङ्गीतमा
भुँडी ठटाएको आवाज आउँछ।
जङ्गली फूलको रातो मासु
चाटिरहेछ
आफ्नै बुढो घाउ।