इन्द्रमणि नेपाल – श्रमिक र परिश्रम
बगाई पसिना सस्तो श्रमको गरी साधना
गरेर दुखमा खोजी सुखको मनकामना
बोकेर सपना भारी भौंतारिंदै वरिपरी
छुट्लान् खै कसरी पिडा सधैं चिन्ता मनैभरी
चराका बचरा जस्ता मिले खाँला अ आँ गरी
बसेका घरमा भोकै सबै साना कठैबरी
पर्खाई अन्नका दाना अगेना छेउमा उनि
तताई खाली भाँडोमा पानि सङ्लो भएपनि
छोपेर खाली त्यो भाँडो छकाई बालकादिका
मनमा आश साँचेर झारी आँसु ढिका ढिका
पुछ्दछीन् सारीले आँशु फर्किएर कुनातिर
हाँस्दछीन् बाहिरी हाँसो दबाई मनमा पीर
कमाई ल्याउँला भन्दै झिसमीसेमा हिड्यो मनु
पुगेर साहुको काम कति कष्ट छ के भनुँ
रातदिन् घोटिई गर्छ सहि पिडा अनेक त्यो
सहन्छ मुटुको दर्द बन्द आँखा गरी अहो
फर्कदा घरमा हात खाली जस्तै कसो गरी
भन्ने के मुखमा चारो नहुदै भो पुगे सरी
आज भन्दा अझै दुः ख भोली बढ्दै गयो हरे
भक्कानो फुट्दछ भित्रै सम्झदैन कसै गरे
सपना देख्छ त्यो मात्र उज्याला दिन भोलीका
माग्छ आफ्ना सबै ईच्छा पुजेर देव झोलीका
दुःख बुझ्ने न छन् कोहि न कोहि भरथेगमा
जिन्दगी वहदै जान्छ नभेट्ने गरी वेगमा
भोटसिपा ९, सिन्धुपाल्चोक
हालः दोहा, कतार