सीताराम आचार्य – उसको रामकहानी
ऊ हारजितको पहरामा अल्झेको छ
जिवन-मरणको लहरामा बेरिएको छ
थिचेको छ उसलाई लामो लडाईंको बोझले
पोलेको छ उसलाई अन्धकारको रापले।
सुगन्धित फूलको खोजीमा हिंड्दा-हिंड्दै
अक्करे भीरको काँडाघारीमा पुग्यो ऊ
पाखन्बेदको बुट्यानको खोजीमा भौंतारिदा-भौंतारिदै
हरितालको फन्दामा फस्न पुग्यो ऊ।
उसका उत्कट अभिलाषाहरुले धिक्कार्दैछन उसलाई
उसले देखेका सपनाहरुले झस्काइरहेछन उसलाई
त्यसैले त ऊ आजकल ठान्ने गर्दछ कि
उसको निम्ति, मान्छे हुनुको अर्थ नरहने भो
उसका आकांक्षाका बुँद-बुँदहरु, सपनाका पल-पल हरु
समस्त घिड़घिडोमै सिमित रहने भो।
मान्छेको परिभाषा के हुन सक्तछ त?
जिउनु? तर खै कसरी, कस्तो र कुन जिवन जिउने?
यस्तै-यस्तै प्रश्नहरुको हल खोज्ने अभिप्राय हेतु
ऊ अनुसन्धानको फेरोमा रुमल्लिएको पनि बर्षौं बितिसकेछ
परन्तु चित्तबुझ्दो नतिजा कुर्दाकुर्दै
सैयौं नतिजाहिन अनुसन्धानहरुको भुमरीभित्र गुजुल्टीदै
ऊ जिवनको यो संगीन मोडमा आइपुगेछ।
यस्तै छ है हजुरहरु उसको रामकहानी !
आज ऊ हारजितको पहरामा अल्झेको छ
जिवन-मरणको लहरामा बेरिएको छ।
टेक्सास, सं. रा. अमेरिका
३० जनवरी, २०१३