वैद्यनाथ उपाध्याय – दृश्य
मेरै पीडाहरूको
समागमले
प्रगाढ छ यो रात!
मेरो वश चल्दथ्यो भने
म सूर्य झूल्काई दिन्थें
त्यो कालो पर्दा जस्तो रात
म च्यातेर मिल्काई दिन्थें।
सँधैं
केही छुटीरहेछ
केही जुटीरहेछ
जीवनको क्रम..
मेरो बौद्धिक सीमादेखि पर
केही घटिरहेछ निरन्तर
भौतिक लालसाको विस्तारमा
खुम्चिएको छ आकाश
भोगवादको प्रवल्यले
डगमगाएको छ यो धरती
संकटग्रस्त हिमाल
वन-सम्पदाहरू
निद्राग्रस्तहरूको सपनाको
दैल्हो चियाई
शरण माँगिरहेछन
थरि थरिका
मानव अत्याचारले
पीडित
नदी-नालाहरू
आफ्नै अस्तित्वको
तलाशमा
काल्लिंदैं बगिरहेछन
अँध्यारो यो कैनवासभित्र
म यो कुन दृश्य
प्रत्यक्ष गरिरहेछु!