Dipendra KC – Desh, Buddha Ra Duryodhan Haru

दीपेन्द्र के. सी. – देश, बुद्ध र दुर्योधनहरु

कसले भन्छ हँ ?
यो देश
बुद्धको देश हो
गलत !
सरासर गलत !!

यो त
काजी भीम मल्लले
मृत्यु पुरस्कार पाएको,
जँग बहादुरको कोत पर्व हुदै
हिंसाको रगतले नुहाएर
१७ हजार वलीले ढाडिएको
हिंउदको अजिँगर झै
आरामसाथ निदाएको
देश पनि हो ;

अहिले एउटै भय छ
कहिले व्यँझिने हो ?

बहुलाएको राजनीति
निर्वस्त्र सरकार
जारी गर्छन सरकारी प्रवक्ता !
असत्य र बक्रशैलीका शन्देस
देशवासीका नाममा,
सँधै भट्ट पुजारीले
प्रसादसँग आशीर्वाद साटेर
भट्याएको मन्त्रजस्तै
केवल !
उनैका लागि
जनताको भोग खान
शहीदको वलि चढाएर
धेरैले शासन चलाएको
देश हो यो ।

कठै कहाँ हुनु
यो देश बुद्धको ।

यो देश
बुद्धको देशै होइन
बुद्धले टेकेको भूमिमात्रै हो
बुद्धको पाइला भएर मात्रै हुदैन
बुद्धत्व छैन यहाँ –
त्यसैले, यदाकदा
शकुनीको पासामा चलेको देश हो यो
यादवहरु साक्षी वसेपनि
यदुवंशी कृष्णहरुको देश होइन यो
जहाँ पासामा गडवडी भएपनि
निरीह कृष्ण !!

कहिलेसम्म हो कुन्नि ?
दुर्योधनले जवर्जस्ती चलाउन खोजेको
देश हो यो
अनि फेरि
महाभारत हुनसक्छ यहाँ कुनैपनि वेला
त्यसैले –
कसले भन्छ हँ ?
यो देश बुद्धको देश हो
सरासर गलत !

वरु अलि अलि यो सही हो
यो देश अलि अलि
शकुनीहरुको पनि हो
दुर्योधनहरुको पनि । ।

–दीपेन्द्र “अपजसी”

वागलुङ, हाल– ओस्टण्डे, बेल्जियम