दुर्गाप्रसाद पोख्रेल – म मर्ने ठाउँ
म त्यहाँ जन्मेको हूँ
जहाँ जागरिला जीवनहरू
डोकामा जीवन ओसार्छन्
जहाँ उत्साहित ओठहरू
तिनकै गौरव गीत गाउँछन्
म त्यहाँ जन्मेको हूँ
जहाँ जन्ममात्रले पनि माटो धन्य बन्छ
जहाँ स्वप्न आफैले ‘म त तन्कन्न’ भन्छ
नपत्याए सुँघे हुन्छ मेरा पौरखी हातहरू
जहाँ दुःखको घाउ धुने
पसिनाका सञ्जीवनीहरू छन् ।
म त्यही हुर्केको हूँ
जहाँ स्यालहरू राति मात्र हुँइया गर्थे
जहाँ ब्वासाहरू लुकिछिपी मात्र शिकार गर्थे ।
जहाँ दिउँसो अन्धकार कहिल्यै उठ्दैनथ्यो
जहाँ परिस्थितिले जीवनलाई कहिल्यै निर्मम कुट्दैनथ्यो ।
म हुर्केको ठाउँ
कहिल्यै सन्ताप हुर्किएन
त्यो ठाउँ
जहाँ हुर्कन चाहदैनथे अनुत्सवका झारहरू
जहाँ उभिन सक्दैनथे उत्पातका टंकारहरू
जहाँ शान्ति र सद्भाव कहिल्यै ओरालो लागेनन्
माग्नेहरूका मुहारमा पनि शान्ति र मुस्कान हुन्थ्यो
त्यहाँ शान्तिका अग्रदूत जन्मे भनी फेसबुकमा अभियान चलाउनु पर्दैनथ्यो ।
त्यो ठाउँ
जहाँ म बूढो हुनेछु
त्यहाँ मानवताको तलाउ सुक्दैछ
त्यहाँ खडेरी र आँधीका उत्पातहरू उठिरहेछन्
व्बासाहरू खुलेयाम बजार चलाइरहेछन्
डोकामा जीवन बोक्नेहरू
कफनमा लास बनेर फर्कन्छन्
जहाँ केवल सपनाहरू तन्किइरहन्छन्
विपनाहरू वेपर्वाह थन्किइरहन्छन्
यत्रो यान्त्रिक उज्यालोमा पनि
स्वयं मान्छेहरू भने कति अँध्यारा भैरहेछन्
आफ्ना बूढ्याईका चाउरीहरू भन्दा
मानवताको खुम्चिएको मुखले मलाई बढी दुख्छ
यौटा सुक्न लागेको रुखले त
नजीकै पलाइरहेका आँकुरा हेरेर शान्त हुन्छ
प्रकृतिको नियम र स्वभाव विपरीत
खडेरी सुम्सुम्याएर म बूढो कसरी हाँसेर मरुँला?
म मर्ने ठाउँ
परिश्रमीहरूको पसिनाले धोएको अलिकति विश्वासको टालो होस्
जीवनको महत्व उजागर गर्ने उदात्त उकालो होस्
सद्भावले लगाओस् शान्ति र समुन्नतिसँग मीत मुस्कान जडित ओठहरूले गाउन् जीवनको गीत
मृत्युले भन्न नसकोस् ‘भेटें एउटा अधम जीवन’
काँडा छिचोली फक्रिरहोस् फूलहरूको यौवन ॥
३१ अक्टोबर २०१२ लण्डन