Tulasi Prawas – Ye Priya Man

तुलसी प्रवास – ए प्रिय मन !

म अक्षरहरूको बुई चढेर
दूर अक्षरयात्रामा जान चाहन्छु
ए प्रिय मन !
मलाई नरोक
दूर देशका दूर कवितामा
म आफूलाई हराउन चाहन्छु ।

मलाई के दियो र खै
यो शहरले ?
म बस्ती बस्तीमा पुगेर
मन सँग मन साट्न चाहन्छु
म अक्षरहरूको बुई चढेर
दूर अक्षरयात्रामा जान चाहन्छु ।

जहाँ भोक छ, जहाँ रोग छ
यो देशभित्र रोपिएको
अव्यवस्थाको शोक छ
तिनै निर्धन बस्तीहरूमा
म अक्षरहरूको बुई चढेर
अक्षरहरूकै मलम लगाउन चाहन्छु ।

मलाई नरोक ए प्रिय मन !
म दूर देशमा एउटा
बुद्घ जन्माउन चाहन्छु
यी खोला, कन्दरा, हिमाल
अनि सुसेलीहरूमा
सेतीको पानी जस्तै
सेता सेता मनहरूको माझमा
म अक्षर रोप्न चाहन्छु ।

मलाई नरोक,
म अक्षरहरूको बुई चढेर
अक्षरयात्रामा जान चाहन्छु
चहराइरहेका मनहरूमा
अक्षरकै मलम लगाउन चाहन्छु
म दूर देशमा एउटा
बुद्घ जन्माउन चाहन्छु ।।

पोखरा