रुपेश राई – पोजिटिभिटी
सधैंजसो कविता
माने! कविता सधैंजसो। प्यारप्यार बोलिरहन्छे।
तल्लो घरकी बुहारी
माथ्लो घरकीसँग च्याट गर्छे
कौसीमा बसेर। ब्राण्ड न्यु ल्याप्टप
नभ्याएर गाउँलाई भ्याउने मोबाइलमै।
[फ्लाशब्याक…
हतार-हतार खाइवरी
चूल्हा चम्कना लिपेर, भाँडाकुडा धोएर
भेला हुन्थे कसैको आँगनमा। चर्चा हुन्थे
फलना र ढिस्काको। आँखा हुँदाहुँदै पनि लगाएर
दाम्पत्य जीवन नमज्जा हुन्थे।]
गाउँलाई तितामिठा
यादहरू थाहै छ। समयको निरन्तरतामा
बिर्सेजस्तो भएको मात्र हो। बेलाबखतमा
फर्मेन्टेड सागजस्तो ह्वास्स गनाउँछ
बाह्रखरी नभएको आँगनमा।
उसैगरी कविता
माने! कविता उसैगरी चिच्च्याको चिच्च्याकै छे।
पल्लो घरको ज्वाइँ
वल्लो घरकोसँग भिडियो च्याट गर्छ
बन्द कोठामा बसेर। एप्पल ल्याप्टपै नभएर
चलेबल ल्याप्टपमै।
सबै गाको गाकै छन्
माने! गाको गाकै छन् सबै। गाउँदेखि
अन्तै, सहरदेखि अन्तै।
संस्कारहरू, रीतिरिवाजहरू
शिष्टाचारहरू, आफ्नोपनहरू
एप्स कम्पनिको संरक्षण केन्द्रमा।
सोसियल नेटवर्क
गजबको छ। न्युसले हेडलाइन् बनायो।
च्याट सकिएकै छैन
गाउँमा।
समय सुतेर बेलुकी हन्छ
समय उठेर बिहान हुन्छ।
गाउँले जानेको कालो र सेतो मात्र हो।
सरलता त्यागेर जटिल
त्यागेर स्वच्छनदवादी, प्रगतिवादी, प्रयोगवादी
प्रतीकवादी, क्रान्तिकारी र विचलन भइदिन्छ कविता।
प्रायजसो कविता
गाउँ-घर, खोला-नाला, बारी-कान्ला
दुःख-सुख, हाँसो-रोदनमै रमाउने एक प्रकारको
मिठासे हुन्छ। शैली मात्र बद्लिरहन्छ दुई कालभित्र।
सपारेर बिगाऱ्यो। बिगारेर सपाऱ्यो
सम्बन्ध। परिचितझैं अपरिचित कविताको
ब्लग र एप्सहरूमा सकारात्मक विश्वासले नकारात्मक प्रभावमा।
सधैंजसो कविता
माने! कविता सधैंजसो छैन अब।
सँघार तरेर अन्तकतै
भरेङ ओर्लेर अन्तकतै, ग्लोबलाइज भरहेछ।
तल्लो घरकी बुहारी, पल्लो घरकोसँग कल-कन्फरेन्स
सकेर लाईभ भिडियो च्याटमा भन्दैछन् ‘एभ्री चेन्जेस इज नट अ प्रोग्रेस’।