Nira Sharma – Hiun Ko Tanna Bhitra

सफा हिउँको तन्ना भित्र
म भित्रको झन् सफा मेरो मन
पग्लिरहेछ कसैको आगमनमा
हिउँ पग्ले झैं
कल्पनामा त्यो हिउँ
तन्ना बन्न सक्छ
फूल बन्न सक्छ
ऐना बन्न सक्छ
फेरी एकै छिन पछि
पग्लेर पानी हुन सक्छ
फूल जस्तो ओइलेर
भूईंमा झर्न सक्छ
ऐना जस्तै फुटेर
चकनाचर हुनसक्छ ।

मेरो मन
हिउँ जस्तो सफा छ
हिउँ जस्तै पग्लिन सक्छ
पग्लेर बहन सक्छ
तर पानी भएर होइन
माया भएर छताछुल्ल
यत्र तत्र सर्वत्र फैलिन सक्छ
कहिले काहीं हिउँको तन्ना भित्र मेरो मन
हिउँजस्तै जमेर साह्रो हुन सक्छ
ढुंगा जस्तै कठोर हुन सक्छ
मायामा ठेस लागे
ऐना झैं चरक्क चर्कन सक्छ
मायामा खडेरी परे
फूल झैं ओइलीन सक्छ ।

आफ्नो पनमा बादल लागे
टपक्क एक थोपा आँशु बनेर
सुटुक्क एक्लै बर्सिन सक्छ
हिउँको तन्नामा लम्पसार
म भित्रको मेरो मन
सबथोक झेलेर पनि
फेरी हिउँ जस्तै सफा हुन सक्छ
मधुर मुस्कान छर्न सक्छ ।

काठमाण्डौं, हाल अमेरिका