Amar Nembang Limbu – Euta Tuwanlo Pareko Bhabishya

अमर नेम्बाङ लिम्बू – एउटा तुवाँलो परेको भविष्य

हजार सपनाहरूमद्ये एउटा सपनालाई
च्याप्प समातेर
यो जीवनलाई कच्याककुचुक पारेर
मुठीमा बोकी
भोलिका पुच्छरहरूलाई समात्दै
अघिअघि हिंद्डैछु म।
सागरका लहरहरू झैं यो मनका लहरहरू
बेसरी उर्लिएर ढेस्सिनु पुग्छन्
टाढा टाढा क्षितिजका थुम्काहरुमा।
आउँदैजान्छन् धेरै संसारहरू ;
हत्तारिएर उडिरहेका बादलहरूभित्र
छिनछिनमा देखिएका जुनघाम जस्तै
छिनछिनमा हराउँदै देखा पर्दैजान्छन्
मैले रोजेका संसारहरू।
धेरै लामो तन्किएर गएको अतीत

अन्तहीनरुपले फिंजिएर गएको भविष्य ;
यही दुइओटा समयहरूको बीचमा
वर्तमानलाई हत्केलामा राखेर,
निस्सासिंदै अगाडि बढिरहेकोछु म ।
अनिश्चितताका तुवाँलाहरू वरिपरिका पहाडहरूमा
आङ दल्दै
मलाई झ्याप्प छोप्न खोजिरहेका छन्
तर जतिसुकै बाधाअड्चन आए पनि
यी तुवाँलाहरूलाई चिर्दै अगाडि जानु छ
किनभने मैले रोजेको संसारमा पुग्नुछ।
किनभने मैले खोजेको संसारमा पुग्नुछ।

न्यूयोर्क