डा. मोहनप्रसाद जोशी — बिम्ब बनाई बसाउन
तिमी आकाशबाट ओर्लियौ
बर्सात भई |
मैले तिमीलाई
छतबाट झरेको
पानीको रूपमा हेरेँ,
तप-तप खसेका
थोपाका रूपमा सुनेँ
र माटोलाई भिजाएर
मीठो गन्ध
नाकमा पु र् याउने
प्रथम वृष्टिको रूपमा सुंघें |
तिमी पर्वत शिखरमा बस्यौ
हिमानी भई |
मैले तिमीलाई
चन्द्रकिरणमा चम्किने
पहाडको पोसाकको रूपमा हेरेँ,
पहिलो घामको झुल्का पर्दा
माछापुच्छ्रेलाई
हेम दृश्यमा परिणत गरी
अविस्मरणीय बनाउने
शृङ्गारको रूपमा देखेँ |
तिमी पृथ्वीमा फैलियौ
रसिक भई |
मैले तिमीलाई
निरन्तर बगिरहने
नदीको रूपमा देखेँ
र तिम्रो किनारमा हिँडेर
आनन्दका क्षणहरु लुटें,
अन्नपूर्णालाई आफूभित्र
उल्ट्याई बसाउने
बेगनास तालको रूपमा हेरेँ,
र सबै सरिता समेट्ने
सागरको रूपमा भेटें |
तिमी मनभित्र बसिसकेका छौ
सञ्चित भई |
मलाई थाहा छ प्रिय,
तिमी अहिले फेरि
सागरबाट उडी
बर्सातको बादल बनिरहेछौ
र मेरो घरतिर आइरहेछौ |
म प्रतीक्षारत छु,
तिमीलाई
छतको बलेंसीबाट
झरेको हेर्न,
थोपा बनी
तपतप खसेको सुन्न,
माटोसित मिलेको
गन्धको रूपमा सुँघ्न,
पुलकित हुँदै
जीउमाथि बर्साउन
र बिम्ब बनाई
मनमा बसाउन |
(डा. मोहनप्रसाद जोशीको ‘कहाँ छ ठाउँ ‘ नामक कवितासङ्ग्रहमा समावेश भएको |)