Dr. Mohan Prasad Joshi – Bhinnata Herne Ki Samanata?

डा. मोहनप्रसाद जोशी — भिन्नता हेर्ने कि समानता ?

भन्छन् कोशीलाई पूर्वको
कर्णालीलाई पश्चिमको
उत्तरतिर खोज्दै जाँदा
पानी त दुवैको हिमालको !

पात रङ्गीन लालुपातेको
फूल लालीगुराँसको
नियालेर हेर्दा दुबैले
लाली त लालै लिएको !

स्वादमा अमिलो सिन्की हो
रस मीठो चानाको
यी दुइटै खान्कीको
मूल त आखिर मूलै हो !

लाहुरेको फूल धेरै रङको
सेतो र पहेँलो सुनगाभाको
माटोमुनि त दुवैको
गानोमै जिन्दगी बनेको !

औँलाको शोभा औँठीले
घाँटी सुहाएको सिक्रीले
आखिर दुवै गहनाले
सौन्दर्य पाएको सुनैले !

मनमोहक मूर्ति बनेको
घरको जग भै बसेको
जुन ढङ्गमा ढले नि ढुङ्गा
आखिर चोइटा चट्टानको !

(डा. मोहनप्रसाद जोशीको ‘कहाँ छ ठाउँ ‘ नामक कवितासङ्ग्रहमा समावेश भएको |)