Dr. Mohan Prasad Joshi – Malai Ta Hansai Uthchha

डा. मोहनप्रसाद जोशी — मलाई त हाँसै उठ्छ

मलाई त हाँसै उठ्छ,
तपाईं कस्तो उट्पट्याङ कुरा गर्नुहुन्छ,
अलिकति विश्राम गर भन्नुहुन्छ |
तपाईंलाई थाहा छैन म कति व्यस्त छु ?
केके गर्दछु ?
ल सुन्नोस् —
फेसबुकमा आफ्ना फोटोहरुलाई अपलोड गर्दछु
त्यसैका मार्फत सयौँसँग गम्भीर च्याट गर्दछु,
कमसेकम दिनको दुई घण्टा मोबाइलमा बोल्दछु,
त्यसका साथै एक-दुई घण्टा टेक्स्ट मेसेज पठाउँछु,
भिडियो गेम जित्नलाई ज्यान दिएर खेल्दछु,
आइपडका कयौँ गाना स्किप गर्दै सुन्दछु,
हरेक गाना आधा सुनेपछि फास्ट-फरवार्ड गर्दछु,
रिमोटलाई थिच्दैथिच्दै टीभीका च्यानल फेर्द्छु,
संसारभरि केके भइरा ‘ छ दिनको दुई पटक हेर्दछु,
त्यो सब गरी बल्लतल्ल रातिको दुई बजे सुत्दछु |

अब त बुझ्नुभो तपाईंले, म कति व्यस्त छु ?
मसँग टाइम होला त विश्राम गरेर खेर फाल्ने ?
आजको मान्छेलाई नहुने पुरानो बानी अँगाल्ने ?

(डा. मोहनप्रसाद जोशीको ‘कहाँ छ ठाउँ ‘ नामक कवितासङ्ग्रहमा समावेश भएको |)