यदुनाथ सरल – तिमी र म
(मधुपर्क जेठ, २०६९)
मैले पाइनँ पढ्न बाल्य वयमा भन्ने तिमी हैन र ?
चिन्ता रोग र शोक केकति परे त्यो सम्झना छैन र ?
त्यो शारीरिक कष्ट धेर तिमीमा क्यै पर्न आएन र ?
त्यो उन्मूलनका निमित्त गरिए शल्यक्रिया हैन र ?
त्यो चर्को घरकाजले म र तिमीलाई अत्याएन र ?
टन्टा झन्झट पीरले वरिपरि घेरी सताएन र ?
जान्थेँ जागिर धान्न झट्ट म उठी अन्तै कतै बाहिर
भन्थेँ सन्तति वस्तु खेती घरमा हेर्ने अरू को छ र ?
तिम्रो शुभ्र ललाटमा सिन्दुरको रेखा सधैँ भर्भर
प्रातः काल हिमालमाथि पहिलो झुल्का सरी सुन्दर
त्यो सौभाग्य समग्र शोभित बनी झल्की रहोस् यो घर
भन्ने सार्थक चाहना म र तिमी बाँची रहे हुन्न र ?