Dambar Chaulagain – Malai Naroka

डम्बर चौलागाइं – मलाई नरोक
(Source: मधुपर्क जेठ, २०६९)

युद्धको सुर्केनी
बुद्धको घाँटीमा कस्सिएको स्वयम्भुको टुँडालबाट
सर्वाङ्ग एक्लिएको नयाँ संविधान
हामीलाई भाषण पस्किएर
आफू रासन भकुर्नेहरुको
देशको कथा लेखिरहेछु
मलाई नरोक !

रगत, आँसु र पीडाका
धारामा मुछिदैं
ज्ञात अज्ञात सहिदहरुको चिहानमा
श्रदाञ्जलि अर्पण गर्दै
पीडाको गीतलाई पगालेर
तुँवालै तुँवालेले भरिएको
देशको कथा लेखिरहेछु
मलाई नरोक !

धनियाँ र फुलमाया
गुँडतिर र्फकर्दै गरेको परेवा
मान्छेको बथानले लखेटेको
हिमाली जलस्रोत जस्तै
ऋणले खोला बगेको
देशको कथा लेखिरहेछु
मलाई नरोक !

कृष्णभीरको पैरोझैं भास्सिएर
तामाकोशीको बाढीझैं बगेर
तन्नेरी पाखुराहरु पलायन भएको
निमुखाहरुलाई कष्ट हुँदै
नयाँ तस्करहरु मौलाउँदै गरेको
मन्द ग्रस्त देशको कथा लेखिरहेछु
मलाई नरोक !

अपमानित सम्पन्नताभन्दा
सम्मानित विपन्नता प्यारो लाग्छ
म मेरै स्वतन्त्र देशको कथा लेखिरहेछु
मलाई नरोक !