Yagyesh Dhwoj Karki – Timi

यज्ञेशध्वज कार्की – तिमी

तिमी दिया हौ कि सोचेको थिएँ
अथाह अन्धकारमा सुन्दर बिन्दु,

तर महाग्नी रहेछौ
कोइला नि नबक्सने खरानी बनाइदिने!

तिम्रो आगमन जीवनको शिखर थियो,
यात्रा खोंच र खाल्डाहरु,
नाङ्गो पहाडलाई हुस्सुको अंगालोमा बाँध्ने
हे असारे बादल!
तिम्रो चन्चल यात्रामा तिमीसँग
चट्याङ् र घनघोर अश्रु मात्र रहेछन्!

जूनमा दाग हुन्छ मलाई थाह थियो

तर औंशी पछि उदाएकी जूनमा

दाग कहाँ नजर आँउछ र?
त्यसैले स्वेत बादलमा गर्जने

काला भाग देखिॅँन,
असफल कथाले दिनसक्ने
वेदना र वैराग देखिॅँन ।
तिम्रो बन्धन को रेशममा
बेरिंदा बेरिंदा
बाँधिन पुगेँ, अल्झिन पुगेँ,
त्यहाँ परेको गाँठो खोल्न सकिँन
गुटुमुटियर पाएको न्यानो ऊनी माया
मैले भुल्न सकिँन ।

जसरी कहिले
भावना केलाउँदा शब्द भुल्छु,
तिमीलाई मनमा खेलाउँदा
म मुटुको अनेक लोक डुल्छु
त्यहाँ,
सीर्फ र सीर्फ

तिम्रो आवाज गुन्जिरहेको पाउँछु,
प्रतिध्वनीमा घात पाउँछु,
अनि सर्वाङ्ग सिरिङ्ग हुन्छ,

म यथार्थले भूइँमा थचारिन्छु,
मेरो मामूली आँखाले सत्य देख्छ
तिम्रो चेहेराको छाँया त्यागिदिन्छ
र विश्वास,
तिमी बाट दूर-दूर भागिदिन्छ ।

त्यही विश्वासको कोपिलालाई

फक्रन नदिइ
त्यसलाई चूँडेर, पत्र पत्र च्यातेर
फुल्न नदिइ ओइल्याई
आदिमा अन्त्य ल्याई
मेरो कल्पना विसर्जन गरिदियौ,
त्यो कल्पना,
जसलाई सिंगारेर मैले स्वर्ग बनाए
त्यसको सिंगासनमा तिमीलाई बसाएँ
त्यो यथार्थ,
जहाँ तिमी ममा थियौ
र जसलाई निकाल्न
म कयौं पटक मरेँ ।