Yagyesh Dhwoj Karki – Kohi Aau

यज्ञेशध्वज कार्की – कोही आऊ

कोही आमा आऊ
यहाँ बुद्ध जन्माऊ,
कोही पिता आऊ
आफ्नो छोरा पि.एन.शाह बनाऊ,
कोही गुरु आऊ
कैयौंलाई अर्जुन शिक्षा दिलाऊ,
कोही भाइ आऊ
लक्ष्मणको प्रेम साथ ल्याऊ,
कोही छोरी आऊ
भृकुटी बनी आऊ,
कोही पत्नी आऊ
जानकी भइ नाम फ़ैलाऊ,
कोही वीर आऊ
देशको सीमा बलभद्र भइ बचाऊ
कोही अरनिको आऊ,
देशको गाउँ इन्द्रप्रस्थ-दूारीका बनाऊ।

कोही कलम लिएर आऊ,
भानुभक्तको चेतना खाँचो छ,
कोही स्वतन्त्रता लिएर आऊ,
त्रिभुवन चाहिएको छ,
कोही न्याय लिएर आऊ,
देशलाई राम शाहको कमी छ,
केही नहुने रित्तेहातहरु आवाज लिएर आऊ,
र चीर निद्रामा सुतिरहेको यो देशलाई जगाऊ।