Rakesh Karki – Aba Piyera Ke Garnu

इन्जिनियर राकेश कार्की – अब पिएर के गर्नु

अब पिएर के गर्नु
आफैँले आफैँलाई गिराए पछि
झन् झन् गिर्दै जाने छौ
नशाले मोहनी लगाए पछि

खोइ त्यो सुरक्षा वरिपरी
शान इज्जत थरीथरी
शक्तिधारी रानो पाए पछि
उडेर गए सबै मौरी

कता भाग्ने कता लाग्ने
सामर्थ छैन फेरी जाग्ने
निभाउने, बल्ने माथि माथी
अँध्यारोमा लड्यो साथी

समयले हो कि बिराएर हो
धन सम्पतिले तिर्मिराएर हो
गर्नु नगर्नु गर्दै जाँदा
पल्टियो जनताकै रगत खाँदा

त्यो मजा त्यो आनन्द
खुल्दैन अब सधैँलाई बन्द
ढोग्नेहरुले सरापी थुक्न थाले
बिराजमान हुने सामु झुक्न थाले

कोही भन्छन् तँ जनता भइस्
कोही भन्छन् तँ सिद्धिइस् गइस्
बाजे बराजुको पौरख आफ्नै देश
बिरानो भयो सब भाषा भेष

अब अर्कै बसे दरबारमा
साँध लगाउँदैछन् तरबारमा
भण्डार सबै मिलिजुली खाए
के गर्छौ ? टुलु टुलु हेर्नु सिवाय

– लस् एन्जेलस्