Komal Shrestha Malla – Prashna Chha

कोमल श्रेष्ठ मल्ल – प्रश्न छ ??

सर्म्पर्क टुटाएर
कस्तो दुरी तय गर्न खोज्दैछौ ?
रगत बगाएको भूलेर
अझै व्यथा थप्ने कोशिस गर्दैछौ
के तिमीलाई देश प्यारो लाग्दैन ?
धेरै पढें तिमीलाई मैले,
तर विश्वास गर्न भुल भएछ
तहसनहसका ती दृष्य भुलेर
मेट्न खोजें हृदयका आला घाउ छटिराहरु
झन् झन् घाउ थपिदै चहर्‍याई रहेछ
यी आँखाले खिचेका चित्रहरु
तिमी भन कहिले मेट्न सक्छौ ?
अतितका ती मनमोहक दृष्यलाई
तिमी भन कहिले पुन निर्माण गर्न सक्छौ ?
सायद तिमी संग
ती अतितका विभत्स घटना छैन होला
छैन भने, विर्सेकै हौ भने
एक पटक नियाली हेर मेचीकालीको छातिलाई
कति गहिरो घाउ खटिरा, बेदना बल्झेको छ ?
तिमी नयाँ यात्राको नाउँमा
कुन यात्राको थालनी गर्न खोज्दैछौ ?
तिमी नयाँ बाटोको नाउँमा
कुन बाटो निर्माण गर्न खोज्दैछौ ?
देखाईदेउ नयाँ बाटो
जसमा करोडौ नेपाली हिड्न सकोस्
जसमा करोडौं नेपाली फुल्न र फैलन सकोस्
यहाँ त नयाँ नयाँ प्रश्नका काँडाहरु उब्जेका छन्
नयाँ नयाँ हजारौ मोड तय हुदैछन्
यात्रा कसरी बढाउने ?
जीवन कसरी चलाउने ?
परिवर्तनको जन्म पल पलमा भैरहेछ
आमाको पीडा र दुखाई कहिले निको हुन्छ ?
र हरेक नेपालीलाई
शान्तिको श्वास फेर्न कहिले मिल्छ ?
प्रश्न छ ??