इन्जिनियर राकेश कार्की – दोधार (कविता)
लस् एन्जेलसका साथीहरु जम्मा भयौँ
नयाँवर्ष दशैँ क्रिस्मस् मनायौँ
साँगीतिक साँझ सिनेमामा रमाउँदै
पार्टी डिजेमा कम्मर मर्कायौँ
सेलिब्रेटिजहरुको शहर यो
ब्रिफकेश बोकेर ब्लाक टाई लगायौँ
खितितिति खित्का रमाइलो गफै
विकसित देशमा चाला अर्कै
को भन्दा को कम हामी जम्मै
कस्तो कस्तो हेर फेशन आम्मै
एकादेशका राजकुमार राजकुमारी जस्तै
गगनचुम्बी महल हामी मस्तै
चिप्लिने कारमा आइफोन जोडी
हाइ हेलो ह्वाट्स अप बडी
कोठामा आएँ मस्त निदाएँ
सपनीबीच कता कता हराएँ
झुम्रो बेरी झुप्रो भित्र
अन्योलमा परेका करोडौँ मित्र
कुप्रो परी तोक्मा टेक्दै
सकी नसकी डोको बोक्दै
खुइय्या लामो सुस्केरा हाल्दै
बाढी पहिरो भीर छिचोल्दै
फाटेको कछाड पसिनै पसिना
सुत्केरी स्वास्नी लालाबाला मसिना
भोक खप्न नसकी केटाकेटी रोको
केवल एक पेट खाने धोको
घेरा फाट्या ढाका टोपी
दर्द वेदना छातीभित्रै छोपी
आँसुका ढिका डिलमै रोकी
हिँड्दैछन् झिनो आशा बोकी
टण्टलापुर घाम हत्केलाले छेक्दै
माथी आकाशमा टुलुटुलु हेर्दै
चिलगडी चिलगडी भन्दै कराइ
नाङ्गो पाखाभरी धेरै भरिया दाइ
कठै ! कति दु:ख मनै बिझाइ
बररर आँशु झर्यो मुटु चह-याइ
करोडौँ नेपालीको अनुहार उस्तै
एउटा एउटा मुहार हाम्रै जस्तै
आश गरी हामीलाई हेरेजस्तो लाग्यो
हाम्लाई पनि नबिर्सनु भनेजस्तो लाग्यो
एउटै मुहान एउटै रगत किन हामी भिन्न
नेपालीले नेपालीलाई गाह्रो माने चिन्न
कोही साथी नाङ्गो पाखामा
कोही साथी लस् एन्जेलसमा
झल्याँस्स बिउँझिएँ
परेँ म दोधारमा ।।
– लस् एन्जेलस्