Komal Malla – Neta Haruko Mahango Bazaar

कोमल मल्ल – नेताहरुको महङ्गो बजार

कर्तव्य मरेको,
नेताहरुको महङ्गो बजारमा
हक, अधिकार, न्याय, समानता धेरै सस्तो छ
किनकि, मेची, कोशी, गण्डक, कालीको किनबेचले नपुगेर
अब पन्चेश्वर पनि बिक्री भै सकेको छ
यो बजार,
हातखुट्टा काटेर, रगतले लिपपोत गरिएको छ !
टाउको छुट्याएर
नैवैद्य चढाइएको छ !
चिहानका मन्दिरहरुमा
चिताको होम गरेर
कुर्चीको माकल
तहस नहसको भग्नावशेषबाट सजाइएको छ !
यो बजारमा,
विधुर, विधुवा, बालक, बृद्धाहरुलाई
समावेशी र रुपान्तरको माला लगाउँदै
खोक्रो आदर्शको शंखनाद गर्दै नचाइएको छ,
र अन्ध अपाङ्ग विस्थापितहरुलाई
राहतको नाममा
गल्ली, सडक, चउरको ओसमा सुुताइएको छ ।
वीरसपुत, महापुरुष, लौहपुरुष
र सहिद विभूतिलाइ
श्रद्धा भक्तिको ‘श्रद्धासुमन’
आफ्नै भाषा, भेष, संस्कृति
र धर्मको छाति चिरेर
तछाड मछाडको ताण्डवनृत्य गरेर
युवाहरुलाई शस्त्र अस्त्र बनाउँदै
जिन्दावाद, मुर्दावादको शंख फूक्न लगाउँदै
मान्छे कै अविर, गुलाव फूल छरेर चढाइएको छ