Sijan Nayan – Sisa Ko Jharee Ra Asina Ka Pyramid Haru

सिजन नयन – सिसाको झरी र असिनाका पिरामिडहरू

सिसाको झरीमा
सिसाजस्तै फुटेर गयौ तिमी ।

जसरी सिसाको जिन्दगी लिएर जन्मिएथ्यौ तिमी
त्यसरी नै तिम्रा उन्मेषहरू
सिसाकै विहङ्गम भएर उडिरहँदा
मेरा हर्षका पारमिताहरू झनै बढेर गएका थिए
अब त ती स्वेद अवशेषहरू
विपर्यासको तुवाँलोले छेकिसक्यो
सायद तिम्रो अस्तित्व नै शालिग्राम बनिसक्यो

सिसाको झरीमा
सिसाजस्तै फुटेर गयौ तिमी ।

तिमी गएको रात
तिमीसँगै
बेलगाम असिनाका पिरामिडहरू
बिजुलीको प्रत्येक चम्काइमा खसेर गए
क्यामुनोका एकएक पातहरूबाट
यावत् पीडाका झन्झावातहरू खसेर गए

तिमीले छाडेर जाँदा मलाई
मेरा प्रत्येक कोषहरूमा बज्ने
स्पर्शका बाँसुरीहरू सुम्पेर गयौ

तर आफ्नै जिन्दगीसँगको बिछोडमा भने
खै के लिएर गयौ तिमीले
मैले दिएको माया
र त्यसका अविस्मरणीय पानाहरू ?
वा चुम्बनका सुरिला धुनहरू
लिएर गयौ

कि लिएर गयौ तिमीले
मेरै आँगनको डिलमा
पहिलो पटक फक्रेको गुलाब ?

फगत, सिसाको झरीमा
सिसाजस्तै फुटेर गयौ तिमी ।