Rajendra Thapa – Kehi Tukra Haru

केही टुक्राहरू – राजेन्द्र थापा
(मधुपर्क माघ, २०६८)

१. बाघ राजनीति

यौटा बाघ मर्छ – खबर बन्छ
त्यै बाघले दिनहुँ मृग मार्छ – खबर बन्दैन
थुक्क राजनीति !

२. सडक बन्द

सडक बन्द भन्छ मान्छे,
तर सडक बन्द हुँदैन,
मान्छे मात्र बन्द हुन्छ ।

३. प्रजातन्त्रको रोग

प्रजातन्त्रको रोग लागेको मान्छे
खुब बोल्छ, खुब बोल्छ
बोल्दाबोल्दै थाक्छ, अनि चुप लाग्छ
र प्रजातन्त्रको रोग निको हुन्छ ।

४. विकल्पहरू

पेट भर्न पाउने, भुक्न नपाउने,
पहिलो विकल्प थियो, हाम्ले मानेनौं ।
पेट भर्न नपाउने, भुक्न पाउने,
दोस्रो विकल्प हाम्ले छान्यौं ।
पेट नि भर्न पाउने, भुक्न नि पाउने,
आजको विश्वको यो तेस्रो विकल्प,
हामीलाई नेताहरूले भन्दै भनेनन् ।