इन्जिनियर राकेश कार्की – ग्याँस स्टेशन
कल्पनामा धेरै धेरै फुल फुलाएथेँ
सपनाको रंगीचंगी दुनियाँ बसाएथेँ
आज पनि हतार हतार गरेर आएँ
उही ग्याँस स्टेशन पुगेर ठिँग उभिएँ
कहिले तेलमा डुबे झैँ लाग्छ
कहिले जेलमा थुनिए झैँ लाग्छ
उफ्रीन्छु कहिले ठानी हरीयो बन
पुछ्दै बढार्दै उही ग्याँस स्टेशन
घंटी पछि घंटी गिज्याउँछ भित्ते घडी
तेल हाल्दै गुड्कीदै थरीथरिका गाडी
घरी घरी बजाउँछु झर्को लगाउने रजिष्टर
लाग्छ यही ग्याँस स्टेशन नै हो मेरो घर
हिउँ भन्दा चिसो कुलर भित्र कहिले
डोको भन्दा गह्रुँगो उचालेर जहिले
घंटामा घंटा थपेर बटुल्नु छ धन
जुन होस् या घाम उही ग्याँस स्टेशन
पालो दिने त्यो साथी हतार गर्दै होला
यसो लन्च कुम्लाएर प्लाष्टिकको झोला
ड्याँग पडका पड्किदानी झसँग हुन्छ मन
फेरी झिस् मिसेमै आउँछु है ग्याँस स्टेशन
लस् एन्जेलस्