Shreeshisha Rai – Ghara Pugne Bato Khojdai

श्रीशीशा राई – घर पुग्ने बाटो खोज्दै

म श्रीशीशा किरात राई वान्तावा हुँ
‘किरुवा कान्छा’ भन्छन् उनीहरु
सानो ठान्छन्
घरमा पस्न दिँदैनन्
तुलसीमठ छोईदिने हो की भनेर झस्किन्छन्
तैपनि
कति उनीहरुकै खसीलाई घाँस काटीरहने ?
कति गहुँबारी खन्ने ?
कति चामल बोक्ने ?
अहिले म आफ्नै
संघीय घर खोज्न निक्लेको हुँ
बल्ल बल्ल यहाँ आईपुगेँ

यो त रामप्रसाद राईको ठाँटी पो रै’छ
आम्मा…..मा……मा…..
यहाँ त चारैतिर बाटा रै’छन्
अब म कतातिर जाऊँ ?
उ…., सञ्जय सन्तोषी राई
सवैले अजात भनेको सुन्न नसकेर
आफ्नो दाह्रीजुंगामा आगो लगाउँदैछन्
उ……, भुइदल राई
आफैलाई लेख्दा लेख्दा थाकेर
आफ्ना पुस्तकहरुले लसुन साट्दैछन्
यता
‘किरात स्वायत्त राज्य’ ब्यानर बोकेर चतुरभक्त राई
कुमार लिङदेनसँग बक्सिङ खेल्दैछन्
‘नारदमुनी थुलुङ रेडियो’ सुन्दै सुमाया राई
साकेला गीत सम्झदै रुदैछन्

उता भूपाल राई
कवितासँग्रह हातमा लिएर भाषण थालेका छन्
श्रवण मुकारुङ
‘विसे नगर्चीको बयान’ बेच्न साउदी जाँदैछन्
पारीवाट इन्द्रबहादुर राई
खिस्स खिस्स हाँस्दैछन्

आफ्नो ब्याकरण कसैले नपढिदिएपछि
डा. नोबलकिशोर राई रिसले मुर्मुरिँदैछन्
सवै विद्यार्थीहरुले छाडेर गएपछि लालदेउसा राई
कक्षाकोठामा गट्टी खेल्न थालेका छन्
त्यही नजिकै गोपाल किराती
भएभरका बन्दुक माटोले पुरेर झम्म झम्म मुस्काउँदैछन्
तैपनि ‘ह्याङओभर बाकी छ’ भन्दै सवै भाग्दैछन्
जय शिवाहाङले मुद्युम विज्ञानको परिचर्चा शुरु गरेका छन्
तर कसैले फर्केर समेत हेरेका छैनन्

अब म कहाँ जाऊँ ?
कुनबाटो गए म आफ्नो घर पुग्छु ?
हेरेको हेर्यै भा’ छु
यहाँ भोकभोकै उभिरहनु भन्दा
घाँस काट्नु नै वेश
भारी बोक्नु नै वेश

तरहरा