भोजराज बराल – चिहान बाट आमाको चिट्ठी – कहिले आउंछौ त बाबु देशको मलामी जानलाई?
तिमीले जस्तै मैले पनि घर छोडे को धेरै भयो बाबु
फरक यत्ती हो
तिमी बाध्यताको निहुं बोकी पलायन भयौ
म तिम्रो पलायनको परीणामले वाध्य भएर हिंडें
एक सांझ
तिम्रो कमाइको अँश माग्न
एउटा सिङ्लो गाउं नै हतियार लिएर आए
नै नास्ती मरु माले नसुन्ने रे
दुई चार दिनको म्याद पनि नदिने रे
तिमी सँग मद्घत माग्ने पनि कुरै भएन
हात खुट्टा ठुटै पारी
अधमरोमै गाडीदिए
बाबु अधमरोमै गाडीदिए,
आगनको डिलमै, आपको बोट्मुनी
हो बाबु
त्यै आपको बोट्मुनी को चिहानमा
आजकल
सानो डेरा जमाएकी छु
झुक्किएर आफ्नै भनी घरमा नजानु नि
सिद्धिएला मेरो जस्तै तिम्रो पनि जुनी
बाबु
सिद्धिएला मेरो जस्तै तिम्रो पनि जुनी
आमाको किरिया त त्यस्तै भयो बाबु
डराइ डराइ १ – २ जनाले पुरेर छोडे
आफ्नो किरिया आँफै गरेको भए हुन्थ्यो भने चिहानबासी हरुले
मैले पनि त्यसै गरें तिमी आउन नमिल्ला भनेर
जहाज चढ्न खतरा, जताततै त्रासै त्रास
बाटो घाटो उस्तै, बमले पनि लग्यो धेरैको सास
अली पहिलेको कुरै नगरौं
बिना कारण गाउंमा पनि मरे सयौं
कतिको त चिहानको पनि पत्तो छैन
बाबु, तिमी भाग्यमानी रहेछौ
आमाको चिठ्ठी पढ्न पायौ,
वाएर लेसको ईन्टरनेटले गर्दा,
साइबर जमानाले गर्द
कम्तिमा मेरो चिहान त थाहा पायौ
नभुलिकन एउटा पिपलको बोट सार्नु है
मेरो मलामी त कोही भएनन
देशलाई त्यस्तो नगर्नु है
किनकी देशलेनै तिमीलाई हुर्कायो, बढायो
कहिले आउंछौ त बाबु
देशको मलामी जानलाई?
अधमरो छ देश,
यमराजको निम्ता आएको पनि १-२ बर्ष भईसक्यो
आज हो कि भोली हो
छिट्टै आए प्राण देख्थ्यौ
अली पछी लाश देखौला
कहिले आउंछौ त बाबु
देशको मलामी जानलाई?
जती टुक्र्याए पनि देश
पूर्न सजिलो नहोला, छेउ छाउमा ठाउँ छैन
नदिहरु त फराकिलो भएकै छन
तरपनी आधा डढेको देश सजिलै बगाउन्नकी
आउ बाबु एकपल्ट चिहानमा पिपल सार्नलाई
देश एकदमै ग्रस्त छ आज हो कि भोली हो
आउ बाबु अन्तिम पटक
देशको मलामी जानलाई
आर्यघाट्मा देश न अटाउला
कोशी सम्म पुग्नु पर्छ कि लाश बोकेर
आउ बाबु एक पटक
अलिकती सम्यम र साहस बोकेर
देशको मलामी जानलाई,
बचाउन कोही लागेका छैनन
सबैलाई देश पिरलो भएको छ
सके सबै चुंड्ने
नसके जिउंदै पुर्ने
अधमरो देशको बाबु
अब धेरै दिन छैनन
आउ बाबु एक पटक
अलिकती सम्यम र साहस बोकेर
देशको मलामी जानलाई,
शायद अन्तिम पटक
देशको मलामी जानलाई।
– London