Bhojraj Baral – Badhai Bhandaina

भोजराज बराल – बधाइ भन्दैन!!

कुलको दीप जन्म्यो
बधाइ भनेन,
मैलाको डङुर खोस्रदै गरेको
अर्को खाते
मानसपटलमा आयो रे!

वर्ष दिन नपुग्दै
फेरि इश्वरको बरदान!
एकातिर हर्ष को सिमा छैन,
एउटा थुङो फूल बोकेर गएन,
बधाइको कुरै भएन!
बम्बैको कोठि याद आयो रे!

रुवान्डा देख्छ,
अफघानिस्तान देख्छ,
बेनि सम्झिन्छ,
अरब सम्झिन्छ,
दुबइ सम्झिन्छ,
जेरुसलेम सम्झिन्छ,
शरणार्थिको फाराम सम्झिन्छ!

कृष्ण जन्मे पनि
बधाइ भन्दैन,
बुद्ध जन्मे पनि भन्दैन,
पशुपतिको ब्रतले,
चार धामको आशिर्बाद्ले,
जसरि जन्मे पनि
अब उ बधाइ भन्दैन!

पासपोर्ट बनाउनेको लाइन देख्छ,
नक्कलि सम्पत्ति धितो राख्नेको लाइन देख्छ,
जो जहां जन्मे पनि,
अब,
उ बधाइ भन्दै भन्दैन!!

– London