दीप राज नेयोंगहांग – समय र छाँया
युगका साँची
अट्टल पत्थरहरुमा
लेउका लेपनहरु पखाल्दै
खोजिरहेछन् मान्छेहरु यथार्थ रङ्ग
समयसँगै
पानी बगीरहन्छ निरन्तर
खियाईएका पत्थरहरुमा
युगका तरङ्गीत ध्वनीहरुका
तस्विरहरु कोरिन्छन
उही रङ्गमा
बसन्तमा खसेका कोपिलाहरु
शिशिरमा पत्थर बनि फुल्दैछन्
नितान्त
आफ्नै अनुहारमा
नितान्त
आफ्नै आकृतिमा
केवल लेउका खास्टोहरुले
वास्तविक्ता छोपिदैछ
त्यसैले
पत्थरले आफ्नो रङ्गको
उन्मुक्ति खोजेको छ
स्वतन्त्र त
उहीले उहीले
सभ्यमानवको घाम उदय हुन अघिनै
लिबर्टीको स्तम्भ बिनानै
उन्मुक्त रामापिथेकस स्वच्छन्द बाँच्थ्यो
दिर्घायु हुन्थ्यो
अहिले महामानवहरु
उन्मुक्तिको नाममा
महातिर्खा मेट्न
लालसागरहरु पिउँछन्
लिकन हड्डीका स्तम्भमाथी चढेर
पृथ्वीको गर्भमा मानवता चुस्छन
तस्मात
थेग्रिन्छ
द्वन्द
रङ्ग विपरित
द्वन्द
जाती विपरित
द्वन्द
लिङ्ग विपरित
द्वन्द
धर्म विपरित
द्वन्द
समुदाय विपरित
अब
भूगोल
आफ्नो निशामा बिस्तारै
घुम्दैछ विपरित दिशा
तसर्थ
उल्टो बोधमा
पूर्व सधै अस्ताउँछ
किङ्गकर्तब्यविमुढ मान्छेहरु
अत्यासका रौदालोमा लपेटिएर
खोज्दैछन राँको
भेट्टाउन
बाबेल (Babel) टावरबाट छरिएका
वास्तविक बहुरङ्गहरु ।
पथरी – ५ किराती चोक
कोशी – मोरंग
हाल आबु धाबी यू ए ई