दीप राज नेयोंगहांग – पुर्व अस्ताउदै गरेको घाम
साँगुरी भञ्याङ्गपारि क्षितिजबाट
उदयमान् घाम
चिसो आङ्ग सेकाउदै निस्कन्छ
घुँगी सिपीको हराउँदो बास
छेपारोको कथासँगै
राउटे र कमैयाका गाँउहरुमा
गल्लीहरु जङ्गल पस्दैगरेको देखिरहेछु
रातहरु उज्यालो कहीँ
उज्यालोहरु रात कहीँ
लाटोकोसेरो र चमेराका
आँखाहरुमा उज्याला रात टल्किरहेछन्
मान्छेका आँखाहरुमा
अध्याँरो दिनको
घुर्मइलोपनाहट अविरल छ अघि
पिरामिडका लासहरु
मरेरै भए पनि
नव युगलाई अवलोकन गरिरहेछन्
मुर्तिवत् जिउँदा मान्छेको एक हुल
डोल्पाली डाँडा पाखाबाट नियाल्छ–
लालीमय आधारबाट
नयाँ युगको उदाउँदो घाम
डाईनोसरको कथा बोकेर
पश्चिमबाट
पूर्व पूर्व डोल्पामा
अस्ताउँछ–घाम
आफ्नै मृटीकामा
सदियौं नुहिएर पढिरहन्छ–
लिनिङ्ग टावर
युग युगका
सभ्यताका कथाहरु
अक्षवरत सिंडी सिंडीमा लमक्…क लमम्…क उक्लँदै
मा…..थी माथीबाट त…
…ल
त…
…ल
सिम्सारका हाम्रा सिमे-भूमे देवताहरु
पानीबिना मर्दैगरेको देख्दा
पाण्डवी कथाहरु बोकेर
पश्चिमबाट बिस्तारै
पूर्व पूर्व
सतार र मुसर गाँउमा
अस्ताउछ–घाम
भेद विभेद
सत्य असत्य
उस्तै बोल्छन्
उस्तै खेल्छन्
राजहंसको खोजीमा
समय-यान बतासिरहेको छ
कँही सत्यमय – सत्य
कँही असत्यमय – सत्य
मुर्तिहरु पनि किन नबर्बराऊन्
बागमती रुँगेर युगौँ बिताउँदा पनि
वीरुपाक्ष उम्रनुको सट्टा दिनानु्…
…भासिरहेछ
सत्यत्वको शल्याक्रियामा
गोहीका आँशु टिल्पिलाउँदा
बसाईँ सर्ने
धेरै धेरै जनावरहरुको कथा लुकेको देखिरहेछु
जब टप्किन्छ
ट..
.प्प
ट..
.प्प
भुईँमा
फेरि एउटा नँया कथा लेखिन्छ
गड्यौलाहरु
लसक्….क लसक्….क लस्कँदै
इतिहास पढ्न शुरु गर्छन्
माटो भरि भरि
बिस्तारै बिस्तारै
पश्चिमबाट पूर्व पूर्व आफ्नै भूमिमा
अस्ताउँछ–घाम।
पथरी – ५ किराती चोक
कोशी – मोरंग
हाल आबु धाबी यू ए ई