भानुराज अर्याल – बुख्याँचाको देशमा
अलि अक्करे भिरमा
कुनै आली मरेको लाशहरुले
कुनै अधकल्चो लाशहरुले
गह्राहरु छुट्टयाईएका
एउटा सानो खेत,
जहाँ,
जताततै सिनो गन्हाइराऽछ,
आलीहरुमा खुँखार देखिने
सयौं गिद्धहरु
लाश लुछन् झगडा गर्दैछन,
वरिपरि व्वाँसाहरु
मौका कुर्दैछन र खुशी छन ।
खेतभर छरिएका छन
अचम्म लाग्दा बोटहरु
कुनै निख्खर राता
कुनै राता-पहेँला
कुनै निला,
र, रगतका फाल्सा जस्ता
अश्लिल निसास्सिने पानीहरु ।
यी अराजक खेतका वर्णनविच
रातो हाँडीको टाउकोमा
पट्यारलाग्दा
काला
मसानका गोलहरुले
आँखा, नाक बनाइएको
तर कान नभएको,
ताइचीन परालको जीउ बनाएर
जुटले खुकुलो संग
बाँधिएको
कमलपित्ते रंगको
बाहुला नभएको
आधा रातो आधा पहेँलो
माग्ने कमिज लगाएर
एक बुख्याँचा
राखिएको छ।
यो समय त्रासदमा
गाउँ कोलाहल छ
र, सहर भित्र
गोपाल, भूपी र बिक्रमहरु
झक्झकाइ रहेछन
तैपनि सहर
कट्टु पनि नलगाई
दिउँसै भट्टीमा
कोक संग म:म: चपाई रहेछ ।