गौतम रिमाल – भूगोल र आत्मीयता
(असोज मधुपर्क, २०६८)
इतिहासको पाना पानामा
वीरताको रक्तसञ्चार भएर
कोरिएका हाम्रो आमाका अङ्गप्रत्यङ्गहरू
कहिले कालापानी गडेर मुटु चिस्याउँछ
त कहिले खुर्दलोटन बाँधिएर
पानीमा निस्सासिन्छ
समयको अन्तरालमा
आमाको नाङ्गो कुर्कुच्चा र पाइतालाहरू
सिमाना बनेर चरचरी चिरिए, चिथोरिए
मातृभूमिको योगदान चुकाउने अभिनयमा
मातृभूमिकै छातीमा कुल्चिएर
धेरैले ढोलक पिटे, कुल्चिएर
रङ्गमञ्चमा नाटक मञ्चन भैरहृयो
मात्र पात्र र शीर्षक फेरिदै रहे
देशप्रेम र सुशासन छताछुल्ल बिस्कुन बनाइयो
तर मानसिकताले दासताको माखेसाङ्लो भेद्न सकेन
उही धमिलो आहालमा डुबुल्किएर
भागीरथ गङ्गाको स्नान सम्झनु !
मुखमा रामनाम जपी
बगलीमा छुरा धस्नू !
यो कस्तो राष्ट्रियता महोदय ?
त्यसैले अब मन मुटुहरूमा गुट र फुटको रेखा होइन
आत्मीयपन रेखाङ्कति हुनुपर्दछ
मेचीलाई घाउ दुख्दा कालीले मलमपट्टी गर्नुपर्दछ
अबको नयाँ नेपालमा
हरेकको मन मस्तिष्कमा
मात्मीयपनको राष्ट्रियता
र स्वाभिमानसहितको स्वाधिनतायुक्त
भावनात्मक रेखा कोरेर
आमाको दुखेको घाउमा मलमपट्टी गर्नुपर्दछ ।