Lalijan Rawal – Shatru Lai Sira Bokyoun (Nepali Gajal)

ललिजन रावल – शत्रुलाई सिरा बोक्यौँ (गजल)
(असोज मधुपर्क, २०६८)

शत्रुलाई सिरा बोक्यौँ सधैँ आफ्नै ठानी
र त युगौँदेखि झेल्यौँ कैयौँ घामपानी ।
पूराना ती रातहरू जति ढले पनि
उदाएको छैन अझै नौलो त्यो बिहानी ।
आँखाबाट पीडाका ती नदीहरू बग्दा
पिरतीका रमाइला हुन्नन् कुराकानी ।
हाम्रो भाग्यमा केही हुन्न, हामी सधैँ लाटा
बाठाहरू लगिहाल्छन् सबै छानी-छानी ।
सुख टाढा क्षितिजमा कतै लुकेको छ
जे गर्दा नि रित्तिदैन दुःखको यो खानी ।
सङ्घर्षको ज्वालालाई जीवनभरि बाल्यौँ
खेर जाने हो कि कतै हाम्रो त्यो लगानी ।