दिंग्लाली कान्छो – मेरा गाउँलेहरु र लिस्नो
मेरो गाउँमा अन्धकारले छोपेकोबेला
जुनकिरीको उज्ज्यालोमा
मान्छेहरु हाँसेका हुन्छन
मनहरु दुखेका हुन्छन
मनहरु फुटेका हुन्छन
मनसंगै ओठहरु कामेका हुन्छन
र पनि तिनै मान्छेहरु
जिन्दाबाद र मूर्दावादका पछी लागेर
छिचिमिरा झैँ
सडक ,पर्खाल र पोस्टर
अनि झन्डाहरुमा देखिन्छन
राष्ट्रवादको नारा बोकेर I
अकस्मात् सूर्योदयको आभाष छाउँदा
मेरा गाउँका मान्छेहरु
झिस्मिसेमै खेताला बन्न पुगेका थिए
पर्मा लगाउन पुगेका थिए
ज्याला पाइन्छ कि भनेर
प्रत्येक गोधूलीसम्म
उधारोमा बेचिएका थिए
कुनै दिन मूल्य पाइएला भनेर I
यथार्थमा तिनै मनहरु
फेरी पनि दुखेका छन्
फेरि पनि फुटेका छन्
अनि जिन्दाबाद र मूर्दाबादका नाराहरुमा
फेरि पनि जुटेका छन्
आफ्नो अस्तित्वको खोजीमा
निरिह मेरा गाउँलेहरु
संधै मन फुटाएर / संधै मन दुखाएर
फेरि पनि नारा ,पोस्टर र भाषणहरुमा
सडक नाटकका पात्रहरु झैँ
शब्दहरुका रोपाई गर्न
असार बिताएर
केवल अरुकालागी
लिस्नो भै
यसरी नै बाँचिरहेका छन् I