डढेको लाश चिच्याई चितादेखि उठ्यो फेरि
जलेको देशवासीको कदम चर्को उठ्यो फेरि
रगत सिंगान गरी हाम्रो जगाएको बगैंचामा
मरुभूमि गर्न सामन्तीहरूको दल जुट्यो फेरि
सबैले न्याय पाउने बनाएको थियो देश
खरानी त्यो कुरा भो सब धुवाँ कालो छुट्यो फेरि
कतै डाँका कतै चोरी जमानामाथि बलात्कार जोरी
बढेको घूसखोरीले हरे दुनियाँ लुट्यो फेरि
अनादर भूमिको नसक्ने भै सकें खप्न
अवस्था देशको देखी मुटु मेरो फुट्यो फेरि
पुराना जीर्ण थाङ्नाले लपेट्ने देहका टुक्रा
करोडौ दुःखीका खोला रगतको त्यो सुक्यो फेरि
गरेको हैन केवल हुँ दिने बलिदान केवल काया हो
म यौटा देशको आत्मा भनी दाह्रा किट्यो फेरि
शहीदको रक्त जिन्दावाद रहोस् कायम सधैं आजाद
नहोस् नेपाली वरवाद भनी डंका पिट्यो फेरि